नेपाल सरकारलाई ५ सय ६० अक्सिजन सिलिण्डर हस्तान्तरण
एनआरएनएको लोगो / तस्बिर: enewspathshala
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५ सय ६० अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूताबासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याईका रु ७५ लाख भन्दा बढीको अक्सिजन सिलिण्डर आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ । ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको हो । सिलिण्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गर्नुभयो । नेपालका विभिन्न स्थानहरुमा वितरण गर्न दाताहरुको अनुरोध सहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष पन्तले मध्यपूर्व देखि अक्सिजन सिलिन्टर नेपाल पु¥उने अभियानमा विशेष पहलकदमी लिई हौसला बढाएर सहकार्य गर्ने ओमानका राजदूत शर्मिला पराजुली ढकाल सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानका सम्पूर्ण पदाधिकारीहरु, मध्यपूर्वमा रहेका संघका केन्द्रिय पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्हरु त्यहाँस्थित नेपाली संघसंस्था लगायत मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीहरुप्रति आभार प्रकट गर्नु भयो ।
अध्यक्ष पन्तले कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरुले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताउनुभयो । संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको जानकारी समेत गराउनुभयो ।
संघका संस्थपक अध्यक्ष डा महतोले आफ्नो मुलुकमा आपत परेको बेलामा जहिले पनि गैरआवासीय नेपालीहरुले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताउनु भयो ।
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले संकटमा समयमा सहयोग गरेकोमा संघ प्रति हार्दिक आभार प्रकट गर्नुभयो । उक्त सिलिण्डर आवश्यकता अनुसार लुम्बिनी प्रदेश – २०० थान, सुदुर पश्चिम प्रदेश – १०० थान, कर्णाली प्रदेश १०० थान, प्रदेश नं २ – ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्न मन्त्री त्रिपाठीले निर्देशन समेत दिनुभयो ।
यस कार्यक्रममा मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ, मध्यपूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मी, एनसीसी बहराईनका पूर्व अध्यक्ष श्याम तामाङ, एनआरएनए खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी लगायत मध्यपूर्व क्षेत्रका दाता तथा सहयोगीहरुका साथै संचारकर्मीहरुको सहभागीता रहेको थियो ।


