गुल्मीका केसीको कोरोनाबाट जापानमा मृत्यु



जापानमा रहदै आएका नेपाली व्यवसायीको उपचारका क्रममा मृत्यु / तस्बिर: enewspathshala


कोरोना संक्रमण भई २२ दिन सघन उपचारका क्रममा जापानको अस्पताल भर्ना भएका मुसिकोट गुल्मीका ४८ वर्षिय प्रेम(कृष्ण) केसीको मृत्यु भएको छ।

नेपालबाट जापान आउनेक्रममा नारिता एयरपोर्टमा कोरोना पोजेटिभ देखिएका केसी स्थानिय नारिता रेडक्रस अस्पतालमा सघन कक्ष आईसियुमा उपचाररत हुनुहुन्थ्यो। उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो। परिवार स्रोतका अनुसार कोरोना संक्रमणबाट फोक्सोले काम गर्न नसकेको अवस्थामा पुगेका केसीलाई चिकित्सकले कोरोना मुक्त घोषणा गरेको केही समयमा मृत घोषणा गरेको थियो। 

हालै नेपालमा जेठा छोराको मृत्यु पश्चात कान्छोछोरा तथा श्रीमतिसंगै परिवारै केसी जापानबाट नेपाल पुगेका थिए। छोराको सदगद काम सकेर जापान फर्कने क्रममा मार्च महिनामा जापान प्रवेश गरेका केसी बावुछोरा परिवारका सदस्य अव कहिल्यै भेट नहुने गरि छुट्टिनु पर्यो। तीनै जना जापान आउने क्रममा श्रीमति केसीलाई कोरोना संक्रमण देखिएपछि नेपालमै रहनु पर्यो। संगैआएका कान्छा छोरालाई समेत कोरोना संक्रमण देखिएपछि बावुछोरा दुवै उपचारमा रहनु पर्यो। करिव एक सातामा कान्छा छोरा निको भएर घर फर्किएपनि बुवालाई गत ९ तारिक बुधबार सांझ ४ बजे गुमाउन पुगे। 

निकट परिवारका सदस्यहरूको सहभागितामा शुक्रबार नै अनुसार उनको मृत शरिरको जापानमै अन्त्येष्ठी गरिएको छ। 

कोरोना संक्रमणबाट जापानमा पहिलो नेपालीको मृत्यु

विश्व महामारी कोरोना संक्रमणबाट मृत्यु भएका केसी जापानवासी नेपालीमा पहिलो घटना हो। यसअघि गत वर्ष एक नेपाली मुलकी भारतिय महिलाको कोरोरा संक्रमणका कारण मृत्यु भएको थियो।

यसैबीच गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार हालसम्म विश्वभरि ४ सय ३५ जनाको मृत्यु भएको छ। 

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा ७ जना,  भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको हो ।