एनआरएनए वक्तृत्वकला प्रतियोगिता फाईनल आज हुदै
एनआरएनए वक्तृत्वकला प्रतियोगिता फाईनल / तस्बिर: NRNA Asia Youth Committee
गैरआवासीय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आज आईतबार हुनलागेको एनआरएनए वक्तृत्वकला प्रतियोगितामा ३० देशका ६० जनाले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन।
‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा हुन लागेको प्रतियोगितामा दोस्रो पुस्ताका एनआरएनए बालबालिकाहरुको सहभागिता हुने पक्का भएको हो।
नेपाल राष्ट्र र राष्ट्रियतासँग प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको फाइनल राउण्डमा एनआरएनए एनसिसीमार्फत प्रतिस्पर्धा गराउँदै तीन जनासम्मको सहभागिता रहेको आयोजक एसिया प्याशिफिक युवा कमिटिका संयोजक तथा कार्यक्रम संयोजक दीपक कँडेलले जानकारी गराउनुभयो ।
प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई र अष्ट्रियाका प्रतियोगीले उपाधीका लागि प्रतिस्पर्धा गर्ने संयोजक कँडेलले जानकारी दिनुभयो ।
अनलाईन जुम मार्फत (अडियो, भिडियो) हुने सो प्रतियोगितामा विद्यार्थीले अगस्ट ९ तारिख आइतबार नेपाल समय ३ बजेबाट अन्तिम प्रतिस्पर्धा गर्ने भएका छन।
संयोजक कँडेलका अनुसार प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहनु भएको छ । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथि रहनु हुनेछ ।
प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्रक प्रदान गरिने छ । एसिया प्याशिफिक डिआरसी समेत रहनु भएको पारसमणी पोखरेललका अनुसार पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार नगद तथा प्रमाणपत्र सहितको पुरस्कार ब्यवस्था गरिएको छ । साथै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका लागि एक जनालाई लिटल मास्टरको टाइटल प्रदान गरिनेछ । साथै एक जनालाई एनआरएन राइजिङ स्टारले सम्मान गरिने गरि तयारी गरिएको छ ।

सो प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कारको लागि डिपवे फाउन्डेसनले आर्थिक सहयोग गरेको र अन्य सहयोग समेत उठ्ने क्रम जारी रहेको संयोजक कँडेलले बताउनुभयो ।
सो प्रतियोगितामा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले भिडियो सन्देश पनि पठाउनुभएको छ ।
गैरआवासीय नेपाली संघले विदेशमा स्थायी रुपमा बसोबास गरिरहेका अभिभावकका बालबालिकालाई देशप्रति माया जगाउन, नेपाली भाषा, संस्कृति, साहित्य र रहनसहनलगायतका विषयमा जानकारी दिने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेको छ । त्यसै सिलसिलामा विदेशमा रहेका दोस्रो पुस्ताका अभिभावकका बालबालिकालाई राष्ट्र तथा देशप्रति भावना जगाउन युवा कमिटीकै पहलमा यो अभियानलाई अगाडि बढाउने उद्देश्यले वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको हो ।
पहिले एसिया प्यासिफिक स्तरिय गर्ने भनिएको कार्यक्रम एनआरएनए आईसीसीको आग्रह पछि व्यश्वव्यापी रूपमा आयोजना गरिएको हो।

