अंशु गौतम हत्या आरोपित सार्वजनिक



अंशु गौतम हत्या आरोपित सार्वजनिक / तस्बिर: Nepal Police

 

विराटनगर । मोरङको लेटाङ नगरपालिका वडा नं २ की किशोरी अंशु गौतम हत्यामा संलग्न आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गरिएको हो ।  आरोपित ५९ वर्षीय पदम अधिकारी गौतमका छिमेकी हुन । उनी ज्याला मजदुरी गर्छन । बलात्कारपछि अंशुको हत्या भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले घटनाबारे किशोरीले आफन्तलाई बताई दिने डरले आरोपितले धारिलो हतियार प्रयोग गरी अंशुको हत्या गरेको अनुसन्धानबाट देखिएको बताए । उनले भने,‘‘प्रहरीले निकै लामो अनुसन्धान र मेहनतपछि अपराधीसम्म पुग्न सफल भएको हो ।’’

गत असोज २१ गते गौतम विद्यालय गएकी थिइन, साथीहरु फर्किएर तर उनी भने फर्किइनन् । परिवारले खोजताल गरे तर कत भेटिइनन् । परिवारले छोरी हराएको भन्दै भोलिपल्ट नै प्रहरीमा निवेदन दिए । त्यसपछि प्रहरीले खोजी गर्यो । तर, कात्तिक ७ गते बेलबारीको चिसाङ साझेदारी वनमा सडेगलेको अवस्थामा एउटा शव फेला पर्यो । त्यो अंशुको नै भएको परिवारले पहिचान गरे । मृतकका बुबा नविन गौतमले घटनास्थलमा भेटिएको चप्पल, कालो हाफ पाइन्ट र लुगा आफ्नी छोरी अंशुकै भएको भनि पहिचान गरेका थिए । 

जंगलमा घाँसदाउरा गर्न गएका तीन जना व्यक्तिले गन्हाएको अवस्थामा शव देखेको खबर गरेका थिए । मोरङ प्रहरीका एसपी कटुवालसहितको टोली घटनास्थल पुगेर मुचुल्का उठायो । शव अंशुको नै भएको पहिचान परिवारले गराएपनि प्रहरीले डिएनए परीक्षण गरायो । कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी मोरङ र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन सयभन्दा धेरै व्यक्तिहरुसँग घटनाबारे अनुसन्धान र सोधपुछ गरेको एसपी कटुवालले बताए । 

‘विशेष टोलीले घटनास्थल, पीडित परिवार र  सुराकीहरू खोजतलास गर्दै घटना गराउने नजिक पुगेको हो’ एसपी कटुवालले भने ।  अपराध अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रिय फरेन्सिक ल्याब, कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी मोरङको संयुक्त टोली गठन गरी अनुसन्धान अघि बढाइएको थियो ।मानव शरीरको अंगको सूक्ष्म परीक्षण तथा फरेन्सीक जाँच गरिएको थियो । एसपी कटुवालले भने,‘‘मोबाइल डेटा, कल डिटेल, व्यक्तिको सुक्ष्म अनुसन्धान तथा सोधपुछपछि हामी अपराधी नजिक पुगेका हौं ।’’

यस क्रममा ३०० भन्दा बढी व्यक्तिलाई सोधपुछ र ४५ जनाको लिखित बयान लिइएको उनले बताए । प्रहरीले पक्राउ गरेका व्यक्तिले पारिवारिक रिस तथा यौन चाहना परिपूर्तिका लागि घटना गराएको निस्कर्ष निकालेको छ । गौतमको हत्या बलात्कारपछि हराएकै दिन भएको प्रहरीले जनाएको छ ।  यसरी गराए घटना घटना विवरण अनुसार अंशु गौतमलाई आरोपित ५९ वर्षीया पदम अधिकारीले स्कुल नजिकै खेल्ने बहानामा आफूसँग लैजाने प्रयत्न गरेका थिए । उनीसँगै भएकी साथी युरिका महतारालाई ५ रुपैयाँ दिएर उनकी दिदी खोज्न पठाएका थिए । त्यसपछि उनले जंगलमा घाँस काट्न सघाउन भन्दै अंशुलाई जंगलको मुखतिर लिएर गएका थिए ।उनले साइकलमा राखेर अंशुलाई चार किलोमिटर भित्र जंगलमा लगेर पहिले बलात्कार गरी त्यसपछि घाँटी थिचेर हत्या गरेका थिए । त्यसपछि घाँस काट्ने हसिँयाले घाँटी रेटेका थिए ।  घटना गराएपछि अधिकारी एक्कासि गाउँ छोडेर भारतको आसामतिर भागेका थिए । अचानक फरार भएका उनीमाथि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको एसपी कटुवालले बताए । उनीविरुद्ध मुलुकी आचारसंहिताको ज्यान सम्बन्धी र करणी सम्बन्धी कसुरमा प्रहरीले मुद्दा चलाउने एसपी कटुवालले बताए । १२ वर्षीया अंशु कक्षा ५ मा अध्ययन गर्थिन ।